समाचार

हुवेइबाट नेपालीलाई फर्काउन विमान चार्टर्डको तयारी : फर्कनको लागि फारम भर्नुपर्ने

काठमाडौं। नेपाल सरकारले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको छ।

हुवेइको वुहानबाट कोरोना भाइरसको संक्रमण शुरु भएको हो। सो क्षेत्र अहिले पनि कोरोनाको सबैभन्दा बढी प्रकोप भएको क्षेत्र मानिन्छ।

बेइजिङमा रहेको नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल फर्कन चाहनेहरुलाई फारम भर्न आग्रह गरेको छ।

नेपालीलाई ल्याउन विमान चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सो सम्बन्धी विवरण तत्काल उपलब्ध गराइने दूतावासले जनाएको छ।

दूतावासले आफ्नो वेवसाइटमा एउटा फारम राखिएको र फर्कन चाहनेहरुले उक्त फारम अनिवार्य रुपमा भर्नुपर्ने जनाएको छ।
[महत्वपूर्ण जानकारी] का लागि यहाँ क्लिक् गर्नुस्।
फारम भरेर फेब्रुअरी २ तारिख (आइतबार बिहान) स्थानीय समयअनुसार ९ बजेभन्दा अगाडि पठाइसक्नुपर्ने दूतावासले जनाएको छ।

नाबालिग बाहेक प्रत्येक पासपोर्टवालाले भिन्दाभिन्दै फारम भर्नुपर्ने र फारम तोकिएको समयमा सम्बन्धीत स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ।

नाबालिगकको हकमा अभिभावकले फारम भर्नुपर्ने छ। थप जानकारीका लागि दूतावासले [1570 12857 63] नम्बरमा मा सम्पर्क गर्न आग्रह गरेको छ।

विश्वका अन्य मुलुकका नागरिकहरुलाई सम्बन्धीत देशले फर्काउन थालेपछि नेपालले पनि आफ्ना नागरिक फर्काउने अभियान शुरु गरेको हो।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री योगेश भट्टराईले नेपाली नागरिकको सुरक्षाका लागि चीन सरकारसँग कुरा भइरहेको जनाउँदै ढुक्क हुन आग्रह गरेका थिए।

सरकारले नेपाली विद्यार्थी र त्यहाँ रहेका अन्य आफ्ना नागरिहहरु फर्काउनका लागि दुई वटा विमान तयारी अवस्थामा राखिएको बताएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here