समाचार

‘कोरोना त्रास’ संसारैभर : मर्नेको संख्या २१३ पुग्यो, संक्रमितहरुको संख्या १०,०००

काठमाडौं।चीनमा कोरोनो भाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ।

यस्तै त्यहाँ संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको जनाइएको छ। यतिखेर १०२,००० जना मानिसहरुलाई सम्भावित संक्रमणको आशंकामा चिकित्सीय निगरानीमा राखिएका छन्।

चीनको हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको मानिएको नोवेल कोरोनाभाइरसको संक्रमणले यतिखेर करिब करिब चीनको ३१ वटै प्रान्तहरुलाई चपेटमा लिएको छ।

यो महामारी विश्वभरिनै फैलिँदै जाँदा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ।

चीनको मुख्यभूमिभन्दा बाहिर अन्य देशहरुमा यो नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमितको संख्या १४० पुगेको छ। तीमध्ये ६ वटा अमेरिकामा, दुई वटा बेलायतमा छन्।

त्यसैगरी, रुसमा पनि कोरोनाभाइरसका संक्रमित फेला परेका छन्। कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने वा कम गर्ने प्रयासको सिलसिलामा अहिले चीनका विभिन्न शहरहरुमा विगत एक हप्तादेखि ६ करोड जति मानिसहरु आंशिक या पूर्णतः आवातजावातमाथिको प्रतिबन्ध खेपिरहेका छन्।

कोरोनाको संक्रमणका डरले वुहान लगायत चीनका कतिपय शहरहरु सुनसान बनेका छन्, मानिसहरु घरभित्रै आफूलाई ‘कैद’ गरेर बसेका छन्।

नयाँ कोरोनोभाइरसको उत्पत्ति थलो भनिएको वुहान शहरमा फसेका विदेशी नागरिकहरुलाई उद्दार गर्ने क्रम जारी छ र विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई विशेष विमान पठाएर उद्दार गरिरहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here