सुर्खेत। स्वच्छ खानेपानी तथा सरसफाइमा हरेक नागरिकको पहुँचको हकलाई मौलिक हकको रुपमा नेपालको संविधानले प्रष्टसँग उल्लेख गरेको छ। यद्यपि देशका सबै भूभागमा बस्ने नागरिकले अझैपनि पुर्णरुपले स्वच्छ खानेपानी अझै पाएका छैनन्। नागरिकको स्वच्छ खानेपानीमा पहुँचको हकलाई सुनिश्चित गर्न सरकारले देशका विभिन्न स्थानमा खानेपानी आयोजनाहरू सञ्चालन गरेको छ। स्वच्छ खानेपानीको कथा खोज्दै यसपटक हामी पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका पुगेका छौँ।यो भिडियोमा हेर्नुस गुर्भाकोटको खानेपानी कथा

https://www.youtube.com/watch?v=3OIilmHesOo

गुर्भाकोट नगरपालिकाको बिच भागबाट भेरी नदी बगिरहेको भएपनि यस क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी अझै सम्म पाएका छैनन्। आजसम्म पनि यस क्षेत्रका अधिकांश बासिन्दा भेरी नदीको पानी पिउँदै आएका छन्। वर्षभरिका अन्य सिजनमा सङ्लो देखिएपनि वर्षायाममा आउने भेरीको धमिलो पानीले गुर्भाकोटीहरुको प्यास मेटिरहेको छ। त्यसो त भेरी किनारको बस्तीका केही घरहरूमा इनारबाट पनि खानेपानीको प्यास मेटाउनेहरू नभएका होइनन्। यद्यपि यो सबैको पहुँचमा भने छैन्। गुर्भाकोटका यी वस्तीहरूमा ससाना खानेपानी आयोजनाहरू पनि सञ्चालन नभएका होइनन् तर सबै आयोजना कतै मुहानसँगै सुकेर गए त कतै व्यवस्थापन र मर्मत नहुँदा हराएर गए।

महत्वाकाङ्क्षी आयोजनाः

गुर्भाकोटीहरुको प्यास मेटाउन यसपटक एउटा महत्वाकाङ्क्षी खानेपानी आयोजना शुरु भएको छ। खानेपानी मन्त्रालयको खानेपानी तथा ढलनिकास विभाग अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ आयोजनाले गुर्भाकोटमा ७२ करोडको लागतमा खानेपानी आयोजना निर्माण गर्दै छ। इो आयोजना अन्तर्गत गुर्भाकोट नगरपालिकाका ४ वटा वडाका बासिन्दाले स्वच्छ खानेपानी पाउने छन्। भेरी नदीको पानीलाई प्रशोधन गरि गुर्भाकोट नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ मा वितरण गरिनेछ।

यो आयोजनाका लागि स्थानीयवासीले समेत लगानी गरेका छन्। शहरी खानेपानी आयोजनाहरूमा ५ प्रतिशत नागरिक लगानी अनिवार्य गरिएका कारण यस आयोजनाका लागि गुर्भाकोटका ६, ७, ८ र ९ नं. वडाका बासिन्दाले ३ करोड ५७ लाख रकम लगानी गरेका छन्।

आयोजना अन्तर्गत स्थानीय स्तरमा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बिकको नेतृत्वमा शुभाघाट खानेपानी तथा सरसफाइ समिति गठन गरिएको छ। समितिले शहरी खानेपानी तथा सरसफाइ आयोजनासँग योजना सम्झौता गरि काम शुरु गरिसकेको छ। आयोजना निर्माणको जिम्मेवारी भने आशिष सिएबि प्रेरा जेभिले लिएको छ। गत असार ३० गते आयोजनाको ठेक्का सम्झौता भएसँगै काम शुरु गरेको निर्माण कम्पनीले हालसम्म झण्डै १५ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ।

आयोजनाको नियमित अनुगमनः

आयोजना निर्माण कम्पनीले गुर्भाकोट ८ को सुन्दरनगरमा शिविर नै खडा गरेको जानकारी पाएपछि हामी पनि शिविर अवलोकन गर्न गयौं। आयोजनाका सामाग्री थुपारिएको र जस्ताले बनेका अस्थायी टहराहरुको शिविरमा हामी पुग्दा बेलुकाको ६ बज्नै लागेको थियो। शिविरमै हामीले शुभाघाट खानेपानी तथा सरसफाइ समितिकी अध्यक्ष एवं गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.क सहितको टोली भेट्यौं। खानेपानी आयोजनाकै अनुगमनका लागि हिँडेको उक्त टोलीमा गुर्भाकोट ८ का अध्यक्ष चित्रबहादुर रेग्मी र निर्माण कम्पनीका प्रतिनिधि बसन्त रायमाझी समेत थिए। शिविरबाट केही किलोमिटर पर खानडाँडाको जङ्गलमा निर्माण भइरहेको पानी ट्याङ्की अवलोकन गर्न हामी पनि उक्त टोलीसँगै हिड्यौं।

खनडाँडामा हामी पुग्दा मजदुरहरु काम गरिरहेका थिए। पानीको श्रोत रहेको भेरी नदीबाट केही किलोमिटर टाढा रहेको खानडाँडामा खानेपानीको रिजर्भ ट्याङ्की बन्दै गरेको देखेपछि हामीले निर्माण कम्पनीका प्रतिनिधि बसन्त रायमाझीलाई यो कस्तो प्रकृतिको आयोजना हो? भनेर सोध्यौँ।

रायमाझीले यो अरु आयोजना जस्तो बोरिङ गरेर पानी निकाल्ने आयोजना नभएको बताए। उनले भेरी नदीको सतह भन्दा साढे ६ मिटर गहिरो इनार बनाएर पाइप राखी प्रशोधन केन्द्रमा जम्मा गरिने र प्रशोधन भएको पानी रिजर्भ ट्याङ्कीमा राखेर वितरण गरिने बताए। रायमाझीले यसरी पानी प्रशोधन गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय गुणस्तरको मापदण्ड बमोजिम गरिने प्रष्ट पारे।

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने सम्झौता बमोजिम काम शुरु गरेको निर्माण कम्पनीले ४ ओटै वडामा ट्याङ्की निर्माण, खटाङमा पानी प्रशोधन केन्द्र र पाइपलाईनको काम समेत एकै पटक अघि बढाएको छ।

हामीले ट्याङ्की निर्माणस्थलमै रहेकी खानेपानी समितिकी अध्यक्ष मैना बिकलाई आयोजना निर्माणको नियमित अनुगमन र समयमै निर्माण सम्पन्न होला त? भन्ने आशङ्का सहितको प्रश्न गर्यौं।

अध्यक्ष बिकले खानेपानी समिति स्वयं, क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्ज, गुर्भाकोट नगरपालिका र परामर्शदाता कम्पनीले समेत निरन्तर अनुगमन गर्दै आएका कारण आयोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरिन।

चुनौतीका कथाः

गुर्भाकोटमा विद्यमान खानेपानी समस्याले गुर्भाकोट ८ का वडाध्यक्ष चित्र बहादुर रेग्मीलाई सँधै पिरोल्ने गथ्र्यो। आफू निर्वाचित जनप्रतिनिधि भएपछि आफ्नो वडावासीका लागि केही दीर्घकालीन महत्व राख्ने आयोजना आफ्नै कार्यकालमा सम्पत्र गर्ने हुटहुटीले वडाध्यक्ष रेग्मीलाई कैयौँ रात सुत्न दिएन। अहिले निर्माण भइरहेको आयोजना सर्भे भएसँगै आफ्नो वडाको पछिल्लो पुस्ताले समेत शुद्ध खानेपानी पाउने सपना पुरा हुने विश्वासमा रेग्मी निरन्तर अघि बढे।

जब शुभाघाट खानेपानी तथा सरसफाइ समिति बनाउने प्रक्रिया शुरु भयो, यहीँबाट राजनीतिक चलखेल समेत शुरु भयो। लामो राजनीतिक रस्साकस्सीले पनि खानेपानी समिति बन्न नसकेपछि नगर कार्यपालिका मार्फत उपप्रमुख मैना बिकको नेतृत्वमा समिति बन्यो। समिति बनेसँगै अर्को चुनौती पहाड बनेर उभियो। चुनौती थियो जनताबाट ५ प्रतिशत लागत सहभागिताको रकम संकलन गर्नु। किनकि आयोजनाको प्रकृति अनुरुप कुल लागतको ५ प्रतिशत नागरिक लगानी भएमात्रै आयोजना निर्माणको काम अघि बढ्थ्यो। यसरी ५ प्रतिशत नागरिक लगानीका लागि गुर्भाकोटका ६, ७, ८ र ९ बाट ३ करोड ५७ लाख नगद जम्मा गर्नु थियो। स्थानीयबाट रकम संकलन गर्दा थुप्रैले आलोचना गरे। कतिले त जनप्रतिनिधि भएर नपुगेर जनताबाट पैसा उठाएर खान थाले समेत भने। आलोचनाले सामाजिक सञ्जालका भित्ताहरु पनि नरंगिएका होइनन् तर यस्ता चुनौतीका बाबजुद गुर्भाकोट ८ का अध्यक्ष रेग्मी बेप्रवाह स्थानीयबासीलाई आयोजनाबारे बुझाउँदै र रकम संकलन गर्दै गए। त्यसो त गुर्भाकोट ६ का अध्यक्ष धनीराम जैसी, ७ का अध्यक्ष बिर्ख बहादुर सार्की र ९ का अध्यक्ष शशी भट्टराईले पनि रेग्मी कै लय समात्दै रकम संकलन गरे। यद्यपि ४ वटै वडाका वडाध्यक्षहरु खनेपानीको मुल समितिमा भने छैनन्। गुर्भाकोटबासीलाई शुद्ध खानेपानी पु¥याउने लक्ष्यमा निरन्तर लागिरहेका वडा नं. ८ का अध्यक्ष रेग्मीको समितिकी अध्यक्ष बिकले मुक्तकण्ठले प्रशंसा गरिन।

रकम संकलन गर्दा थुप्रै चुनौती अनि अविश्वास अगाडि आएपनि आफूले आफैलाई विश्वास गर्दै निरन्तर अघि बढेको वडाध्यक्ष रेग्मीले बताए। कतिपय ठुला ओजना शुरु गर्दा कतिपय मानिसले नबुझेर आलोचना गर्ने, कतिले असहयोग गर्ने विषय सामान्य भएको भन्दै उनले सामाजिक विकासमा भने राजनीतिक रंग छर्न नहुने बताए। तर पछिल्लो समय आयोजनाको निर्माण प्रगती र कामको गतिसँगसँगै सबैले सहयोग गर्न थालेकोमा भने रेग्मीले खुशी व्यक्त गरे। वडाध्यक्ष रेग्मीले यो आयोजना निर्माण भएपश्चात गुर्भाकोटका ४ वटा वडाबासीले २० औं वर्ष सम्म अर्को खानेपानी आयोजनाको लागि भौतारिनु नपर्ने विश्वास व्यक्त गरे। अबको चुनौती निर्माण कार्यको नियमित अनुगमन र यस्को संरक्षण गर्नुपर्ने रहेको भन्दै उनले सबैलाई निरन्तर सहयोगका लागि अपिल गरे।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here