नलेखौँ भन्दा भन्दै
लेख्न मन लाग्ने
मुटु नभएरै हो।
तिम्रो महाअपराध लुकाएर
प्रशंसा गर्ने नसक्ने
मुटु नभएरै हो।

अपराधी र हत्याराको
बिचमा बस्छौ,
नजिक आउन नसकेको
मुटु नभएरै हो।
तिमीले राष्ट्रिय स्वाभिमान
बेच्दा बेच्दै,
राष्ट्रवादी लेख्न नसक्नु
मुटु नभएरै हो।

अपराधीलाई पुरस्कृत गर्ने
तिम्रो कामको
जय जयकार गर्नु नसक्नु
मुटु नभएरै हो।
लुटेरा बनी  ढुकुटीमा
लडिबुडी खेल्दा,
कुवेर नै हुन भनी
पुजा गर्न नसक्नु
मुटु नभएरै हो।

नागरिकको वाक
स्वतन्त्रता खोसेर
राज गर्ने खोज्ने तिमीलाई,
गणतन्त्रवादी भनी
अबिरजात्रा गर्न नसक्नु
मुटु नभएरै हो।

आउ न त
लैजाऊ मलाई
तिम्रै प्रयोगशालामा
करोडौँ खर्च नगरी
एउटा ढुङ्गाको मुटु
हाली देऊ।
जनता मर्दा स्याबास
राम्रो गर्यो भन्न सक्ने
कहिल्यै नदुख्ने मुटु दान देऊ।
कुकर्मलाई पुष्य कार्य
देख्न सक्ने आखा हालिदेऊ।
तिम्रो दुष्कर्मको दुर्गन्ध
पारिजातको सुवास ठानी
स्विकार्ने श्वास नली राखिदेऊ।

तर
ख्याल गर्नु है,
तिम्रो प्रयोगशाला पुग्नु अगावै
मेरो प्राणवायु फालिदेऊ,
त्यत्रो बोझ कसरी उठाउला र
सोच्दै नि काँप्न थाल्छु,
होस उडेर नै हो।
तिम्रो संगतमा रम्न नसक्नु
मुटु नभएरै हो।यो भिडियो हेर्नुहोस्।

https://www.youtube.com/watch?v=gIiYh7O4u24

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here