काठमाडौं।आज माघे सङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन। यसका लागि राजधानीका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ।

देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ। माघे सङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि शुरु समेत भइसकेको छ।

यो वर्ष माघे सङ्क्रान्तिका लागि काठमाडौं उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा महँगिएको छ। उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिए।

उनका अनुसार गत वर्ष माघे सङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झन्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ।

समितिका अनुसार माघे सङ्क्रान्तिका लागि काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ।

नेपालमा माघे सङ्क्रान्तिको आसपासमा वर्षेनी झन्डै १० करोड रुपियाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन्।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here