समाचार

प्रदेश नं. ३ को नाम र राजधानी तोक्न आइतबार मतदान

काठमाडौं। प्रदेश नं. ३ को स्थायी राजधानी तथा नाम टुंगो लगाउन आइतबार बिहान ९ बजेबाट मतदान प्रक्रिया शुरु हुने भएको छ।

प्रदेश सभाका ५ दलका १ सय ५ जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्न सहमत भएपछि मतदानको कार्यसूची तय भएको सभामुख सानुकुमार श्रेष्ठले बताए।

संविधानतः देशको नाम र राजधानी प्रदेश सभाको कूल संख्या १ सय १० मध्येको दुईतिहाइ अर्थात् ७४ मतले टुंगो लगाउन सक्नेछ।

प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेश सभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बाग्मती मात्रै दर्ता भएको छ।

बाग्मती नामको प्रस्तावक कांग्रेस नं. ३ प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश नं. ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन्।

यसैगरी नाममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पनि समर्थन छ। प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेश सभामा दर्ता भएको छ। प्रदेश सभामा नेकपा प्रदेश नं. ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, कांग्रेस प्रदेश नं. ३ का नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक रहेर ३ नं. प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बनाइयोस् भन्दै प्रस्ताव दर्ता भएको छ।

त्यस्तै, विवेकशील साझा पार्टीका रमेश पौडेल प्रस्तावक, शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेर काभे्रको धुलिखेल राजधानी बनाइयोस् भन्दै प्रस्ताव दर्ता गराएका छन्।

सभामुख श्रेष्ठले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न शुक्रबार प्रदेश सभा बैठकमा आह्वान गरेका थिए। स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रदेश नं. ३ को राजधानी मकवानपुर, काभ्रे, भक्तपुर, चितवन र नुवाकोट उपयुक्त रहेको सिफारिस गरेको थियो।

प्रदेश सभामा नेवाः ताम्सालिङ, नेपाल मण्डल र गौरीशंकर राख्न प्रदेश सभा सदस्यले निवेदन दर्ता गराएका थिए। दर्ता भएका नाम र राजधानीको प्रस्तावबारे शनिबार प्रदेश सभा बैठकमा छलफल भएको छ।

प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र १ स्वतन्त्र मत छ।

नेपाल मण्डलका पक्षमा ५ मत
प्रदेश नं. ३ को नाम बाग्मतीको सट्टा नेपाल मण्डल हुनुपर्ने भन्दै ५ जना प्रदेशसभा सदस्यले नेकपाभित्र फरक मत दर्ता गराएका छन्।

फरक मत दर्ता गराउनेमा राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, प्रकाश श्रेष्ठ, उर्मिला कर्माचार्य र सरस्वती बाटी छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here