आर्थिक

भारतले आयातमा रोक लगाएपछि प्रशोधित पाम तेलको निर्यात ठप्प

काठमाडौं।आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ।

यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात भएको कुनै जानकारी मन्त्रालयलाई आएको छैन। नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर नेपालबाट भारत निर्यात हुँदै आएको छ।

>नेपालको प्रशोधित पाम तेलमा भारतले लगायो रोक

पाम तेलकै कारण निर्यातमा निकै ठूलो फड्को मारेको नेपालका लागि व्यापार घाटा कम गर्न यसको महत्वपूर्ण योगदान थियो। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालबाट ११ अर्ब ५२ करोड रुपियाँको यस्तो तेल भारत निर्यात भएको छ।

यो नेपालबाट निर्यात भएका कुनै अन्य वस्तुमध्ये सबैभन्दा धेरै पनि हो। नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमै प्रतिबन्ध लागेपछि त्यसको प्रभावबारे बिहीबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र उद्योगीबीच छलफलसमेत भएको छ।

पाम तेल प्रतिबन्धपछि भारत सरकारको आधिकारिक धारणा खोज्दै नेपाल सरकारको तर्फबाट अनौपचारिक कुराकानी भइसकेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here