घरमा आउने पाहुनाहरू,
सुन्तला चक्लेट देखाउँदै,
मेरो बालापन जिस्काउँदै,
खुट्टामै ढोग्न लगाउँथे।
ठुलो मान्छे भएस् भन्थे,
मेरा माता पितालाई सुनाउँदै,
भाग्यमानी भएस् भन्थे।

पाहुनाहरूको आशीर्वाद भित्रको,
ठुलो मान्छे पनि भइएन।
तिनका आशिष भित्रको,
भाग्यमानी हुनपनि पाइएन।

बरु आजकाल शहरका भिडमा,
कद अग्लिएका मान्छेहरू,
पैसावाल घोषित मान्छेहरू,
आफूलाई शक्तिशाली ठान्नेहरु,
उन्मादमा हिँडेको देखेको छु।
केही थान आकाश छोएका मान्छेहरू।

जब पाहुनाले ठुलो भएस् भन्थे,
म मेरी आमाको न्यानो
काखमा लुटपुट गरिरहन्थेँ।
जब पाहुनाले भाग्यमानी भन्थे,
पिताका फुटेका हात हेरिरहन्थेँ।

ठुलो कहिल्यै बन्नु थिएन।
भाग्यमा त झन विश्वासै थिएन।
शहरको भिडमा भेटिएका,
अग्लाहरुसँग सङ्गत गर्नुपनि थिएन।
बन्नु थियो आफ्नै पिता झैँअसल,
आकाश थाम्ने सपनामा रम्नु थिएन।

किनकि,

जवरजस्त चट्टान पहिरोमा
पुरिएको देखेको छु।
धरहराको अग्लो कद
ठुटो बनेको देखेको छु।
यिनै आँखाले महाराजका दरबार
गल्र्याम गुर्लुम्म ढलेको देखेको छु।
त्यसैले, मलाई ठुलो बन्नु थिएन।
हो, मलाई भाग्यमानी बन्नु थिएन।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here