सुर्खेत। शिखर साकोस भेरिगंगा न. पा.११, रामघाटले आफ्नो २१ औं स्थापना दिवस मनाएको छ। संस्थाको सभाहलमा बिहीबार आयोजित स्थापना दिवस समारोहमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

स्थापना दिवसका अवसरमा संस्थामा विशेष योगदान दिने संस्थाका संस्थापक तथा सल्लाहकारहरू धनसिं खड्का, जसवीर चन्द, नर बहादुर थापा र ललित बहादुर वलीलाई समेत सम्मानित गरिएको थियो। कार्यक्रममा गत आर्थिक वर्षमा शेयर, बचत र ऋणका विभिन्न उत्पादनहरूमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरू, लघुवित्त समूहहरू, उत्कृष्ट सञ्चालक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो।

त्यसैगरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत संस्थाका १२ जना ज्येष्ठ सदस्यहरूलाई समेत विशेष सम्मान गरिएको थियो। त्यस्तै शेयर सदस्यका सन्ततिहरु मध्ये एस.एल.सि. र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्र र छात्राहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेफ्स्कुनका महासचिव दामोदर अधिकारीले यस वर्ष नेफ्स्कुन र सहकारी विभागबाट संयुक्तरूपमा प्रदान गरिने नेपालस्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम अन्तर्गतको प्रोवेसन व्राण्ड प्राप्त गर्न सफल भएकोमा शिखर साकोसलाई बधाई ज्ञापन गरे। अधिकारीले अबको सहकारी अभियान आर्थिक समृद्धिका लागी सदस्यहरूलाई व्यावसायिक बनाउनुपर्ने कुरामा केन्द्रीत हुनुपर्ने भन्दै समग्र सहकारीको विकास र सदस्यको सुरक्षित भविष्यका लागी बचतमा वृद्धि नै जीवनमा समृद्धि भन्ने कुरा बिर्सन नहुने धारणा राखे।

त्यस्तै विशिष्ट अतिथि तथा नेफ्स्कुन सञ्चालक यज्ञ प्रसाद ढकाल, अन्य अतिथि  तथा सल्लाहकारहरूले संस्थाको उन्नति र प्रगतिका लागी शुभकामना दिँदै शिखर साकोसलाई नेपालकै सबल र सक्षम सहकारीको रूपमा विकसित गर्नुपर्ने धारणा राखे। उनीहरूले संस्थाले स्व-रोजगारको वातावरण सिर्जना गर्नुपर्ने, सदस्यमा देखिने गरि परिवर्तन आउनुपर्ने, संस्था आत्मनिर्भर बन्नुपर्ने र यही आर्थिक वर्षमा प्राप्त गरेको प्रोवेसन ब्रान्डलाई निरन्तर कायम राख्दै एशियाली मापदण्डको एक्सेस ब्रान्ड लिनका लागी प्रयासरत रहनुपर्ने कुरामा जोड दिए।

संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष झुमा खड्का खत्रीले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुल बहादुर रावतले गरेका थिए।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here