आज अङ्ग्रेजी क्यालेन्डर मान्नेहरुका लागि नयाँ वर्ष। हामी बिक्रम संवतलाई अनुसरण गर्नेहरूका लागि अङ्ग्रेजी क्यालेन्डरको त्यतिधेरै महत्व नभएता पनि पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्ष नेपालमा पनि मनाउने चलन बढ्दो छ। अङ्ग्रेजी नयाँ वर्ष २०२० का अवसरमा हामी तपाई सम्पूर्णलाई शुभकामना व्यक्त गर्न चाहन्छौ। अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनबाटै हामीले नेपाली पत्रकारितामा नयाँ यात्रा आरम्भ गरेका छौँ, अर्थात नयाँ वर्षको शुभकामना सहित हामी न्यूजपाटी डटकम लिएर तपाईंहरू माझ आएका छौँ। त्यसो त नेपाली पत्रकारिता जगतले लामो इतिहास बोकेको छ। परम्परागत लिथोमा छापिने पत्रिकाको युगबाट शुरु भएको हाम्रो पत्रकारिता प्रविधि सँगसँगै फड्को मार्दै आज डिजिटल फम्र्याट सम्म पुगेको छ। छापाबाट शुरु भएको हाम्रो पत्रकारिता रेडियो टेलिभिजन हुँदै अनलाइन सम्म आइपुगेको छ। विश्व बजारमा भित्रिएका प्रविधिहरूलाई यथासम्भव प्रयोग गर्दै नागरिकको सूचना पाउने हक कुनै न कुनै रूपले नेपालका सञ्चार माध्यमहरूले संरक्षण गरिरहेकै छन्। नागरिकको सूचनासँग मात्र कहाँ हो र ? नेपालको इतिहासमा भएका परिवर्तनका आन्दोलनमा नेपाली प्रेस जगतले परिवर्तनका पक्षमा आफूलाई सँधै उभ्याउँदै आएको छ। त्यसो त नेपाली सञ्चार जगत कमजोरी रहित हो भनेर ठोकुवा गर्नु पनि उचित देखिदैन तर सञ्चार जगतमा देखिएका कमजोरी र समस्याहरूका नाममा प्रेस घाँटी निमोठ्नु लोकतान्त्रिक शासन व्यवस्था भएको देशको चरित्र पक्कै पनि होइन। नेपाली सञ्चार जगतमा अस्वस्थ प्रतिस्पर्धा देखिएको पनि सत्य हो। हामी छापा, रेडियो र टेलिभिजनको युग हुँदै अनलाइन माध्यम सम्म आइपुगेता पनि छापा, रेडियो र टेलिभिजनको आज पनि आफ्नो ठाउँमा उत्तिकै महत्व छ तर नागरिकको पहुँचका हिसाबले भन्ने हो भने अनलाइन सञ्चार माध्यम धेरै नागरिकका लागि सजिलो माध्यम बन्न पुगेको छ।

नागरिकको सबैभन्दा बढी पहुँच रहेको अनलाइन सञ्चार माध्यममा सत्य, तथ्य, निष्पक्ष र कहिल्यै नसुनिएका अनि कहिल्यै नहेरिएका नागरिकका कथा प्रकाशन प्रसारण गर्ने उद्देश्यले हामीले आजदेखि न्यूजपाटी डटकमको प्रकाशन आरम्भ गरेका छौँ। न्यूजपाटीको प्रकाशन आरम्भ गरेसँगै सयौँ अनलाइनहरूको भीडमा हामी छौँ भन्ने विषय हामीलाई ज्ञात छ। सयौँ समाचारमूलक अनलाइनलाई यतिबेला हामीले कुनै प्रतिस्पर्धाको दृष्टिकोणले हेरेका छैनौ बरु के मा प्रष्ट छौँ भने हाम्रो सबै भन्दा ठुलो प्रतिस्पर्धी हामी स्वयं हौ। सयौँ अनलाइनहरूको भीडमा स्थापित हुन न्यूजपाटीलाई चूनौतीहरुको सामना पक्कै गर्नुपर्नेछ तर एक नंबर बन्ने दौडमा हामी कहिल्यै गुणस्तरहीन र कपोकल्पित सामाग्रीहरु प्रकाशन गर्ने छैनौ, यो हाम्रो प्रतिवद्धता हो। हामी बिकाउ शिर्षकका नाममा समाचार र नागरिकको सूचनाको हकको अतिरञ्जना कहिल्यै गर्नेछैनौं। हामी राजनीतिक रूपले सन्तुलित रहने छौँ तर जब नागरिकका अधिकार कुण्ठित हुन्छन्, नागरिकको आवाज यो या त्यो रूपले दबाउन खोजिन्छ तब हामी जनताको असली प्रवक्ता बनेर आफ्ना कलमहरु गतिशील बनाउने छौँ।

पछिल्लो समय नेपालको अनलाइन पत्रकारितामा देखिएको भाईरल बन्ने रोगले न्यूजपाटीलाई कहिल्यै छुने छैन भन्नेमा हामी स्पष्ट छौँ। निरन्तर सक्रियता, जिम्मेवार पत्रकारिता भन्ने मूल नारालाई स्थापित गर्न न्यूजपाटीको टिम नेपालका हरेक वस्तीमा पुग्ने छ। पत्रकारिताका आभारभूत मान्यता र न्यूनतम शर्तहरुको पालना गर्दै समाचारको विश्वसनियता पुष्टि भईसकेपछि मात्र हामी त्यस्ता सामग्री आम पाठकका लागि प्रकाशन गर्ने छौँ।

विचार, अभिव्यक्ति,विश्लेषण र दृष्टिकोण जस्ता विषयमा हामी देशका विज्ञ, प्रवुद्ध वर्ग र आम पाठकका लागि समेत खुलामञ्चको रुपमा रहने छौँ। न्यूजपाटीलाई पाठक सम्म पुर्याउँदा अवश्य पनि हामी,  कर्पोरेट हाउसहरु साथै सरकारी तथा गैरसरकारी निकायहरुसँग समेत जोडिने छौँ तर  हामी कहिल्यै समाचारको व्यापार गर्ने छैनौ किनकि पत्रकारिताको व्यावसायिकता हाम्रो मूल धर्म हो, समाचारको व्यापार होइन। हाम्रो विषयवस्तुको छनौट, कुनैपनि विषयवस्तुमा हामीले प्रयोग गर्ने भाषा र समाचार या सामाग्री प्रकाशन गर्ने हाम्रो शैलीले नै आम पाठकलाई हामी सम्म तान्ने छ भन्नेमा हामी विश्वस्त छौँ।

अनलाइन पत्रकारितामा हामीले गर्ने सभ्य प्रयोगले नै हाम्रा विज्ञापनदाताहरु हामीसँग आकर्षित हुनेछन भन्ने पनि विश्वास लिएका छौँ। यात्रा आरम्भकोे यो सुखद दिनमा हामी हाम्रो सञ्चालक संस्था न्यूज हाउस प्रा.लि.का साझेदार, सम्पादकीय टिमका साथीहरु, समाचार कक्षका मेहेनती पत्रकार साथीहरु, शुभचिन्तकहरु, आम पाठक र विज्ञापनदाताहरुमा समेत पत्रकारिताको न्यूनतम मूल्य र मान्यताबाट कहिल्यै बिचलित नहुने र निरन्तर आम पाठकको सत्य तथ्य र निष्पक्ष समाचारको भोक मेटाउने लक्ष्यबाट कहिल्यै बाटो नबिराउने प्रतिवद्धता व्यक्त गर्दछौं।

अतः न्यूजपाटीसँग निरन्तर जोडिएर हामीलाई हौसला र निरन्तर प्रतिक्रिया दिनहुन हामी तपाई सम्पूर्णमा हार्दिक अपिल गर्दछौं। हामीसँग जोडिन हाम्रो फेसबुक पेज https://www.facebook.com/newspati1 लाइक र ट्वीटर https://twitter.com/newspati1 मा फलो गरिदिनु हुनेछ भन्ने विश्वास लिएका छौँ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here